Search

गुल्मी जिल्ला समाज यूके नयाँ नेतृत्व चुन्ने तयारीमा, मे १ मा अधिवेशन

गुल्मी जिल्ला समाज यूके नयाँ नेतृत्व चुन्ने तयारीमा, मे १ मा अधिवेशन

लन्डन । गुल्मी जिल्ला समाज यूके संस्थाको नयाँ नेतृत्व चयनको तयारीमा जुटेको छ। आइतबार लन्डन ग्रीनवीचस्थित ‘माउन्टेन भ्यू रेष्टुरेन्ट’ मा सम्पन्न बैठकले आगामी मे १ तारिख आइतबार सातौँ अधिवेशन गर्ने निर्णय गरेको छ ।  

अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सल्लाहकार समेतको उपस्थितिमा बसेको बैठकले अल्डरसटको ‘द प्यालेस’ हलमा अधिवेशन गर्ने टुंगो लगाएको छ ।

अधिवेशनमार्फत् नयाँ नेतृत्व चयन गर्नका लागि सल्लाहकार मीन दर्लामीको संयोजकत्वमा एक निर्वाचन समिति पनि गठन गरिएको छ।  

सात सदस्यीय निर्वाचन समितिमा रन केसी सदस्यसचिव तथा  मोति भण्डारी, केशव भण्डारी, क्या ताम ढेगा, ओम गुरुङ र चक्रबहादुर राना सदस्य छन् ।  

अधिवेशनअघि ‘प्रि एजिएम’ बैठक बसेर अधिवेशन र निर्वाचनको तयारीबारे थप निर्णयहरु गरिने महासचिव बीर बलालले नेपाली लिंकलाई जानकारी दिए ।  

अधिवेशनले आगामी तीन वर्ष संस्थालाई हाँक्ने सातौँ कार्यसमिति निर्वाचित गर्नेछ । यसअघि टोप पल्ली नेतृत्वको वर्तमान कार्यसमितिले गत वर्ष नै आफ्नो तीन वर्षे कार्यकाल पूरा गरिसकेको भएपनि महामारीको कारण कार्यकाल एक वर्ष लम्ब्याइएको थियो।  

बैठकले गत डिसेम्बरमा आयोजित अपांगता दिवस च्यारिटी कार्यक्रमबाट संकलित कोषबाट दुई लाख रुपैँया तम्घासस्थित आशा अपांग केन्द्रलाई प्रदान गर्ने पनि निर्णय गरेको छ। उक्त सहयोग हस्तान्तरण गर्ने जिम्मा हाल नेपालमा रहेका सल्लाहकार विनोद ज्ञवालीलाई दिइएको छ।

बैठकमा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्षद्वय अर्जुन गौतम र राम गलामी, सल्लाहकारहरु मोति भण्डारी, रन केसी, दासुराम पाण्डे, फडिन्द्र भट्टराई, फत्त थापा, चक्रबहादुर राना लगायतको सहभागिता थियो।

त्यस्तै, कार्यसमितिबाट उपाध्यक्ष तारानाथ भण्डारी, सचिव मञ्जु भण्डारी, प्रवक्ता रुद्र थापासहित राधा खरेल, मुकुन्द खराल, भक्त बलाल लगायतका सदस्यहरुको पनि उपस्थिति थियो। 

डेढ दशकअघि स्थापित गुल्मी जिल्ला समाज यूकेले हालसम्म थुप्रै परोपकारी कार्य गरेको छ।

समाजले गृह जिल्लामा एम्बुलेन्स वितरण, तम्घासको आशा अपांग केन्द्रलाई वर्षेनी आर्थिक सहयोगदेखि देशका विभिन्न क्षेत्रमा पनि भूकम्प, बाढिपहिरो, आगलागी जस्ता विपतका बेला सहायता पठाउँदै आएको छ ।  

Related posts