Search

एनआरएनए र एफएनजे यूकेमा निर्वाचित गुल्मेलीहरु सम्मानित

एनआरएनए र एफएनजे यूकेमा निर्वाचित गुल्मेलीहरु सम्मानित

लन्डन । एनआरएनए यूके र एफएनजे यूके कार्यसमितिमा नवनिर्वाचित गुल्मेलीहरु सम्मानित भएका छन् ।

गुल्मी जिल्ला समाज यूकेले आइतबार साउथ इष्टको ग्रीनवीचस्थित ‘माउन्टेन भ्यू’ रेष्टुरेन्टमा एक कार्यक्रम गरी प्रतिष्ठित संस्थाहरुमा निर्वाचित जिल्लाका सदस्यहरुलाई सम्मान गरेको हो ।

त्यसअवसरमा एनआरएनए यूकेमा निर्वाचित अध्यक्ष प्रेम गाहामगर, कोषाध्यक्ष विष्णु खरेल र कार्यसमिति सदस्य भिम खनाललाई सम्मान गरियो । एनआरएनए यूकेको नवनिर्वाचित कार्यसमितिमा नेपालमा गुल्मी घर भएका १२ जना पदाधिकारी तथा सदस्य निर्वाचित भएपनि अरु कार्यक्रममा उपस्थित थिएनन् ।

त्यस्तै, नेपाल पत्रकार महासंघ (एएफएनजे यूके) मा निर्वाचित पदाधिकारीहरुमध्ये तीन गुल्मेलीलाई पनि समाजले सम्मान गरेको छ । एफएनजे यूकेका नवनिर्वाचित अध्यक्ष ध्रुवराज अर्याल, उपाध्यक्ष शिव भण्डारी र सचिव मञ्जु भण्डारी सम्मानित भए ।

कार्यक्रममा पशुपतिनाथ मन्दिर लन्डनको नयाँ कार्यसमितिका निर्वाचित अध्यक्ष दासुराम पाण्डे, उपाध्यक्ष सरिता पौडेल, सहसचिव राधा खरेल, जनप्रगतिशिल मञ्चका अध्यक्ष सुरेश गौतम तथा क्षेत्री समाज यूकेकी महिला संयोजक माया केसीलाई पनि सम्मान गरियो ।

सबै संस्थामा निर्वाचित गुल्मेलीहरुलाई समाजका अध्यक्ष टोप पल्ली, संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष राम गलामी, सल्लाहकारहरु बालजंग अर्याल, दुर्गा पाण्डे, विनोद ज्ञवाली, क्याप्टेन ताम ढेगा लगायतले खादा ओढाएर सम्मान गरेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै एनआरएनए यूकेका नवनिर्वाचित अध्यक्ष प्रेम गाहामगरले बेलायतको नेपाली समुदायमा गुल्मी जिल्ला समाजको सदस्यका रुपमा सधैं गौरव महसुश हुने गरेको सुनाए ।

बेलायतका गुल्मेलीहरुबीचको एकता र मेलमिलाप समुदायका समेत लागि उदाहरणीय रहेको उनको धारणा थियो । एनआरएनए यूकेलाई आम समुदायले चाहेजस्तै नेतृत्व दिन आफू तत्पर रहेको भन्दै उनले आफ्ना जिल्लावासीहरुको विशेष सहयोग र साथ अपेक्षा राखेको बताए ।

कार्यक्रममा एफएनजे यूकेका नवनिर्वाचित अध्यक्ष ध्रुवराज अर्यालले सम्मान र हौसलाका लागि समाजप्रति आभार प्रकट गरे । कुनै पनि संस्थाको नेतृत्वमा जानु आफैमा ठूलो उपलब्धि नरहेपनि काम गरेर देखाउन भने अवसर मिल्ने उनले बताए ।

बेलायतमा सबै जिल्लावासी नेपालीहरुको प्रतिनिधित्व रहने एनआरएनए, एफएनजे जस्ता साझा संस्थाको नेतृत्वमा पुगेका गुल्मेलीहरुलाई आफ्ना जिल्लावासीहरुको सहयोग र मार्गदर्शन महत्वपूर्ण बन्ने उनले बताए ।

समाजका अध्यक्ष टोप पल्लीले बेलायतका प्रतिष्ठित संस्थाहरुको नेतृत्वमा गुल्मेलीहरु पुग्नु जिल्लाकै लागि गौरव भएको धारणा राखे । ‘तपाईंहरुप्रति हामीलाई गौरव छ । अब झन् राम्रो काम गरेर देखाउनुहोस्, हामी सधैं पछाडि रहेर सहयोग गरिरहन्छौं’, उनले भने ।

कार्यक्रम समाजका महासचिव वीर बलालले सञ्चालन गरेका थिए । त्यस अवसरमा समाजको कार्यसमितिका कोषाध्यक्ष वरुण भण्डारी, सहकोषाध्यक्ष तारा भट्टराई, प्रवक्ता रुद्र थापा, सदस्य मोहन घिमिरेसहित पदाधिकारी तथा सल्लाहकारहरुको ठूलो उपस्थिति थियो ।

सोही कार्यक्रममा समाजले एनआरएनए यूके निवर्तमान महासचिव फडिन्द्र भट्टराई, एफएनजे यूके संस्थापक अध्यक्ष नवीन पोखरेल र सञ्चारकर्मी प्रकाश कंडेललाई पनि सम्मान गरेको थियो ।

Related posts