Search

कोरोना प्रभावितको सहयोगमा जुट्दै गुल्मी जिल्ला समाज यूके

कोरोना प्रभावितको सहयोगमा जुट्दै गुल्मी जिल्ला समाज यूके

लण्डन । गुल्मी जिल्ला समाज यूकेले पनि कोरोना महामारीका कारण प्रभावित नेपालीहरुलाई सहयोगको हात अघि बढाउने भएको छ ।

गत आइतबार ‘भिडियो कन्फरेन्स’ मार्फत बसेको कार्यसमितिको बैठकले अफ्ठेरोमा परेका नेपालीहरुलाई सहयोग गर्ने निर्णय गरेको महासचिव बीर बलालले जानकारी दिए ।

बैठकले तत्कालका लागि बेलायतमा एनआरएनए यूके र ‘मर्जिंग नेपसक्स’ ले सञ्चालन गरेका सहयोग अभियानमा संस्थाको तर्फबाट आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।

संस्थाले सञ्चालन गर्ने सहयोग अभियानका बारेमा थप छलफल गर्न भन्दै समाजको कार्यसमितिले सल्लाहकार र ट्रस्टीहरुसंग पनि एक छुट्टै बैठक गर्ने भएको छ ।

यहि मे महिनाको २४ तारिखलाई तय उक्त भिडियो कन्फरेन्स बैठकले कोरोना प्रभावितका लागि समाजका तर्फबाट के कसरी सहयोग गर्ने भन्नेबारे निर्णय लिने सचिव मञ्जु भण्डारीले बताइन् ।

समाजका अध्यक्ष टोप पल्लीले कोरोना महमारीबाट सारा संसार नै प्रभावित रहेको अवस्थामा एक सामाजिक संस्थाका रुपमा समाजले पनि आफ्नो भूमिका खेल्न चाहेको बताएका छन् ।

नेपाली लिंकसंगको संवादमा अध्यक्ष पल्लीले भने, ‘हाम्रो तर्फबाट जे-जति सम्भव हुन्छ, सहयोग गर्ने भन्ने हाम्रो कार्यसमितिको निर्णय भएको छ । अब सल्लाहकार र ट्रस्टीहरु समेतसंग बसेर हामी विस्तृत छलफल गर्छौ र कसरी अगाडि बढ्ने भन्ने कार्ययोजना बनाउँछौं ।’

बैठकमा कोरोनाबाट विश्वभर ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जलीस्वरुप मौनधारण गरिएको थियो । त्यस्तै, हालै नेपालमा निधन भएका कार्यसमिति सदस्य मुकुन्द खरालका पिताप्रति श्रद्धाञ्जली र परिवारमा समवेदना प्रकट समेत गरिएको थियो ।

अध्यक्ष पल्लीले अध्यक्षता र महासचिव बलालले सञ्चालन गरेको बैठकमा उपाध्यक्षद्धय राम सापकोटा र तारानाथ भण्डारी, सचिव मञ्जु भण्डारी, कोषाध्यक्ष वरुण भण्डारी र सदस्यहरु कमला भण्डारी, भोजराज भण्डारी, थमन राना, मोहन घिमिरे, तारा भट्टराई, रुद्र थापा, मुकुन्द खराल, हरि भट्टराई, राधा खरेल, शंकर भण्डारी, भिम खनाल र भक्त बलाल लगायतको सहभागिता थियो ।

Related posts