Search

बेलायतको गुल्मेली भेलाअगस्ट ४ मा, प्रसाद र सुनितामीको दोहोरी भीडन्त हुने

बेलायतको गुल्मेली भेलाअगस्ट ४ मा, प्रसाद र सुनितामीको दोहोरी भीडन्त हुने

लण्डन । गुल्मी जिल्ला समाज यूकेले वर्षेनी गर्दै आएको वार्षिक भेला तथा समर भेटघाट आउँदो अगस्ट ४ तारिख आइतबारका दिन हुने भएको छ । अल्डरसटको कनर्ट स्कुलमा आयोजना हुने कार्यक्रममा विविध मनोरञ्नात्मक प्रस्तुतिहरु प्रस्तुत गरिनेछ ।

सो कार्यक्रममा नेपालका राष्ट्रिय स्तरका लोकदोहोरी कलाकारद्धय प्रसाद खप्तरी मगर र सुनितामी परियारले पनि प्रस्तुति गर्ने भएका छन् । कार्यक्रमका संयोजक एवम् समाजका महासचिव बीर बलालले दिएको जानकारीअनुसार आइसल्याण्डबाट आउने कलाकार नविन भट्टराईको प्रस्तुति पनि कार्यक्रममा रहनेछ । त्यस्तै, समयभित्रै भिसा प्रक्रिया टुंिगएको खण्डमा गुल्मेली लोकदोहोरी गायक दिपक परियार र गायिका निर्मला थापा मगरलाई पनि कार्यक्रममा ल्याउने प्रयास भइरहको छ । समाजकी सचिब मन्जु भण्डारीका अनुसार कार्यक्रममा अमन्त्रित कलाकारका प्रस्तुतिबाहेक स्थानीय ५ कलाकारका ग्रुपको विभिन्न नृत्यहरु समेत देखाइने भएको छ । त्यस्तै, प्रथम नौमति बाजा गुल्मी यूके समुहले पनि हरेक वर्ष जस्तै आफ्नो विशेष प्रस्तुति गर्नेछ ।

कार्यक्रममा गुल्मेली झ्याउरे, ठाडो भाका, लोक भजनकृतन, तीज गीतको नाचगान सहितका अरु मनोरञ्जनात्मक कार्यक्रम पनि रहनेछन् । बालबालिकाको लागि बाउन्सी क्यासल लगायतका खेलहरुको व्यवस्था रहनेछ भने १ तोला सुन प्रथम पुरस्कारसहितको राफल ड्र पनि गराइनेछ । कार्यक्रममा यस वर्ष लण्डन, अल्डरसट, मिडल्याण्ड, स्कटल्याण्डसहित बेलायतभरबाट करिब १५ सय जना सहभागी बन्ने आयोजकको अपेक्षा छ । साउथ ईष्ट लण्डनबाट मात्रै ४ वटा कोच बुक भइसकेका छन् भने बर्मिंगहम, नटिंगहम लगायतका क्षेत्रबाट पनि कोचहरु आउने तयारी छ ।

बेलायतका लागि नेपाली राजदूत डा दुर्गाबहादुर सुवेदी प्रमुख अतिथि रहने कार्यक्रममा समाजका नयाँ आजीवन सदस्य, विभिन्न शैक्षिक सफलता हासिल गर्ने विद्यार्थी र समाजलाई विशेष योगदान गर्ने २ व्यक्तित्वलाई समेत सम्मानको कार्यक्रम राखिएको छ । समाजका अध्यक्ष टोप पल्ली मगरले बेलायतबासी सम्पुर्ण नेपालीहरुलाई कार्यक्रममा सहभागी भइदिन समाजको तर्फबाट आव्हान गरेका छन् ।

Related posts