लण्डन । गुल्मी जिल्ला समाज यूकेको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक आइतबार नटिंगहममा सम्पन्न भएको छ ।बैठकले सल्लाहकार समिति, विधान समिति तथा ट्रस्टी बोर्डको चयनका साथै कार्यविभाजन र भावी कार्यक्रमहरु तय गरेको छ । बैठकले नवनियुक्त सल्लाहकारहरुलाई आउँदो जुन २ तारिख एक विशेष कार्यक्रमबीच स्वागत गर्ने निर्णय गरेको छ ।
त्यस अवसरमा पुरानो तथा नयाँ कार्यसमितिबीचको हेन्डओभर टेकओभर पनि हुनेछ । सोहि दिन आगामी अगस्ट ४ मा हुने वार्षिक भेलाको तयारी बैठक पनि गरिनेछ । बैठकले समाजले गर्ने विभिन्न च्यारिटीसम्बन्धी कामहरुको संयोजक उपाध्यक्ष तारानाथ भण्डारीलाई तोकेको छ । त्यस्तै, अपांगता दिवस च्यारिटी कार्यक्रमको संयोजनको जिम्मा भने अर्का उपाध्यक्ष रामप्रसाद सापकोटालाई लगाइएको छ ।
अगस्टमा हुने वार्षिक भेला कार्यक्रमको संयोजक महासचिव बीर बलाल र सहसंयोजक उपाध्यक्ष मति पुनलाई चयन गरिएको छ ।बैठकले समाजको मिडिया संयोजकमा शिव भण्डारी, प्रवक्ता रुद्र थापा, एडमिन मेम्बर भक्त बलाल, खेलकुद सेक्रेटरी हरि भट्टराई सांस्कृतिक सेक्रेटरी माया केसी, आईटी संयोजक मुकुन्द खरेल, वेभसाइट संयोजक प्रेम गुरुङ, युवा संयोजक शिव राना र ड्रिंक संयोजक भोजराज भण्डारीलाई चुनेको छ ।

समाजको च्यारिटी बोर्डको ट्रस्टीमा कार्यसमितिका अध्यक्ष टोप पल्ली, महासचिव बीर बलाल , कोषाध्यक्ष वरुण भण्डारी र सदस्य शंकर भण्डारीका साथै संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्व अध्यक्ष राम गलामी र सल्लाहकार बालजंग अर्याललाई नियुक्त गरिएको छ । त्यस्तै, सल्लाहकार केशव भण्डारीको संयोजकत्वमा सल्लाहकारहरु प्रेम गैरे र मिन दर्लामीका साथै उपाध्यक्ष राम सापकोटा, महासचिव वीर बलाल र कोषाध्यक्ष वरुण भण्डारी सदस्य रहेको विधान समिति गठन गरिएको छ ।उपचार खर्चको अभावमा परेका गुल्मी सत्यवती गाउँपालिका ४ लिम्घाका २६ वर्षीय युवा शिव सिंग्जालीलाई सहयोग गर्ने निर्णय गर्दै सहयोग संकलन गर्न सदस्य छविलाल थापालाई जिम्मा लगाइएको छ अध्यक्ष टोप पल्लीको अध्यक्षतामा सम्पन्न बैठकमा उपाध्यक्षत्रय रामप्रसाद सापकोटा, तारानाथ भण्डारी र मति पुन, महासचिव बीर बलाल, सचिव मञ्जु भण्डारी, कोषाध्यक्ष वरुण भण्डारी, सहकोषाध्यक्ष तारा भट्टराई तथा सदस्यहरु बाबुराम शर्मा, भोजराज भण्डारी, माया केसी, मुकुन्द खरेल, हरि भट्टराईरिता गौतम, थम्मन राना, भक्त बलाल, कमला भण्डारी, शंकर भण्डारी र भिम खनालको उपस्थिति थियो । सचिव मञ्जु भण्डारीले हेल्थ एण्ड सेफ्टी ब्रिफ तथा उपाध्यक्ष तारानाथ भण्डारीले स्वागत मन्तव्य दिएका थिए भने महासचिव बीर बलालले बैठक सञ्चालन गरेका थिए ।