Category Archives: Events

ब्लड बैंक स्थापनामा जुटे बेलायतवासी गुल्मेलीहरु

लन्डन । गुल्मी जिल्ला समाज यूकेले गुल्मी सदरमुकाम तम्घासमा ब्लड बैंक स्थापना सहयोगार्थ आइतबार एक च्यारिटी कार्यक्रम गरेको छ । च्यारिटीबाट ८ हजार ८७० पाउण्ड संकलन भएको समाजका कोषाध्यक्ष तारानाथ भण्डारीले जानकारी दिएका छन् ।

विश्व अपांगता दिवसका अवसरमा चाल्टर्नस्थित प्यारिस हलमा आयोजित कार्यक्रमको प्रमुख अतिथी थिए दूतावासका उपनियोग प्रमुख एवं प्रवक्ता शरदराज आरण । ब्लड बैंक स्थापना र केही हिस्सा आशा अपांग केन्द्रको सहयोगका लागि आयोजित कार्यक्रम सम्वोधन गर्दै आरणले मातृभूमिप्रति गुल्मेलीहरुको सहयोगी भावनाको प्रशंसा गरे ।
समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष नरेश खपांगीमगर, संस्थापक अध्यक्ष एवं सल्लाहकार ओमप्रसाद थापा र पूर्व अध्यक्ष एवं सल्लाहकार अर्जुन गौतमले समाजका गतिविधिबारे प्रष्टयाएका थिए ।अध्यक्ष गलामीले आफू भाषणभन्दा काम गरेर देखाउने बताउंदै सहयोगी सबैप्रति आभार व्यक्त गरे ।

समाजका महासचिव शिव भण्डारी र प्रवक्ता मन्जु भण्डारी खरेलले सञ्चालन गरेको औपचारिक कार्यक्रममा उपाध्यक्ष फडिन्द्र भट्टराईले स्वागत मन्तव्य दिए । सहकोषाध्यक्ष राम सापकोटाले ब्लड बैंक स्थापनाको उद्देश्यबारे बोले भने उपाध्यक्ष राजन खरेलले च्यारिटी उद्देश्यबारे जनाए ।
कार्यक्रममा प्रथम नौमति बाजा गुल्मी यूकेको प्रस्तुति रोचक रह्यो । नौमती बाजाको धुनमा सहभागी मज्जाले नाचे भने सुजाता काफ्ले, रण केसी लगायतको दोहोरी पनि कम रोचक थिएन । गोकुल भण्डारीले गुल्मी र गुल्मेली जनताको सहयोगी भावनामा केन्द्रित कविता वाचन गरेका थिए । स साना बालबालिकाले नाच प्रस्तुत गरे ।
कार्यक्रमको संयोजन उपाध्यक्षहरु फडिन्द्र भट्टराई र राजन खरेलले गरेका हुन् । उक्त अवसरमा माउन्टेन भ्यू रेष्टुरेन्टका रोमनाथ पाण्डेले खाना र डिजे हेम विष्टले साउण्ड सिस्टम उपलव्ध गराएका थिए । कार्यक्रमका सहयोगदातालाई मायाको चिनो प्रदान गरिएको थियो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्ड यूके प्रतिनिधि पशुपति भण्डारी, एनआरएनए यूके कोषाध्यक्ष दीपक श्रेष्ठ, उपाध्यक्ष दासुराम पाण्डे, रोयल बरो अफ ग्रीनवीच नेपलिज सोसाइटी अध्यक्ष कुमार श्रेष्ठ, चाल्टर्न समाज यूकेका संस्थापक अध्यक्ष सुरज केसी, व्यवसायीहरु कमल भण्डारी, यादव भण्डारी, साझा नेपाली समाज यूके अध्यक्ष रण केसी, शान्ति नेपाली समाज बेलायतका अध्यक्ष कृष्ण ढकाल, बेलायत कांग्रेसका भोजप्रसाद गुरुङ, मोती भण्डारी लगायतको सहभागिता थियो ।

Share This:

गुल्मी जिल्ला समाजद्वारा कार्यवहाक राजदूतको विदाइ

लन्डन । गुल्मी जिल्ला समाज यूकेले आफ्नो चार वर्षे कार्यकाल सकेर स्वदेश फर्कन लागेका कार्यवहाक राजदूत तेजबहादुर क्षेत्रीको विदाइ तथा सम्मान गरेको छ । निरमाया रोधीघर, अल्डरसटमा शनिवार आयोजित एक कार्यक्रमबीच क्षेत्रीको विदाइ गरिएको हो । कार्यक्रममा समाजको तर्फबाट अध्यक्ष राम गलामीले क्षेत्रीलाई खादा, सम्मानपत्र र मायाको चिनो प्रदान गरे । उक्त अवसरमा ग्रेटर रसमोर नेपलिज कम्युनिटी र क्षेत्री समाज यूके प्रतिनिधिले पनि क्षेत्रीलाई खादा ओढाएर विदाइ तथा शुभकामना दिए ।

कार्यक्रममा वक्ताहरुले कार्यवहाक राजदूत क्षेत्रीको प्रशंसा गर्दै उनले चार वर्षको अवधिमा दूतावासको संरचना परिवर्तनसंगै नेपाली समुदायसंगको सम्वन्ध पनि प्रगाढ बनाएको बताए । क्षेत्रीले सरुवा भएर नेपाल जाने प्रक्रिया स्वभाविक भएको जनाउंदै नेपाल भएपनि आफ्नो तर्फबाट सक्दो सहयोग भइरहेको जनाए । आफ्नो कार्यकालमा केही कमी कमजोरी भएको भए त्यसमा क्षमा दिन पनि उनले अनुरोध गरे ।

महासचिव शिव भण्डारीले सञ्चालन गरेको कार्यक्रममा उपाध्यक्ष राजन खरेलले स्वागत मन्तव्य दिएका थिए । उक्त अवसरमा प्रतिमा केसी र समाजका उपाध्यक्ष फडिन्द्र भट्टराईले क्षेत्रीमा समर्पित कविता र गजल प्रस्तुत गरे । भट्टराईले क्षेत्रीबारे आफ्नो चार पृष्ठ लामो आलेख पढेर सुनाएका थिए जसमा क्षेत्रीले गरेका काम कारवाही, उपलव्धि र बेलायत नेपाल कुटनीतिक सम्वन्ध विस्तार लगायतमा क्षेत्रीको सक्रियताबारे प्रशंसा थियो ।

कार्यक्रममा प्रवासी नेपाली मञ्च यूकेका अध्यक्ष रामशरण सिम्खडा, समाजका पूर्व अध्यक्ष एवं सल्लाहकार अर्जुन गौतम, ग्रेटर रसमोर नेपलिज कम्युनिटीका वरिष्ठ उपाध्यक्ष जीव बेल्वासे, यती नेपाली एसोसिएसनकी अध्यक्ष पिपला देवान, समाजका सल्लाहकार शंकर भण्डारी, नेपाल पत्रकार महासंघ बेलायतका अध्यक्ष नरेश खपांगीमगर, एनआरएनए यूके उपाध्यक्ष शान्ति थापा कुंवर लगायतले शुभकामना दिए ।13509349_10206622592032337_1147349920_o-1024x683

कार्यक्रम सांगीतिक माहोलमा ब्यतित भएको थियो । प्रथम नौमती बाजा गुल्मी यूकेको नौमती बाजा प्रस्तुति र लोकगायक गायिका बमबहादुर कार्की र शिवा आलेको दोहोरी एवं गायनमा सहभागी धित मरुन्जेल नाचे । बमबहादुरको पानको पात…मा आफ्नो बाल्यकाल सम्झने पनि धेरै नै भए ।

उक्त अवसरमा एनआरएनए यूके सदस्य शालिक सापकोटाले टिकेट विक्री र जुलाई १९ मा लर्डसमा हुने क्रिकेट खेलको प्रवर्धन गरेका थिए । कार्यक्रममा कार्यवहाक राजदूत पत्नी रिता क्षेत्री, अध्यक्ष गलामी पत्नी लक्ष्मी गलामी, यादव भण्डारी, भिम बानिया, कुमार केसी, डा. कपिल रिजाल लगायत अतिथीहरु सहभागी थिए ।

Share This:

गुल्मी जिल्ला समाजमा चयन भयो सर्वसम्मत कार्यसमिति

लण्डन । गुल्मी जिल्ला समाज यूकेले राम गलामीको नेतृत्वमा नयां कार्यसमिति चयन गरेको छ । आइतबार अल्डरसटको भेटघाट रेष्टुरेन्टमा सम्पन्न पांचौं अधिवेसनले सर्वसम्मत नयां कार्यसमिति घोषणा गरेको हो ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षहरुमा टोप पल्ली,  राजन खरेल र फडिन्द्र भट्टराई चयन भएका छन भने महासचिवमा शिव भण्डारी चुनिएका छन । त्यस्तै सचिवमा वीर बलाल, कोषाध्यक्षमा तारानाथ भण्डारी र सहकोषाध्यक्षमा राम सापकोटालाई चयन गरिएको छ ।

 

कार्यसमितिका सदस्यहरुमा मञ्जु खरेल, मुना सापकोटा खरेल, तारा भट्टराई, राजु मल्ल, विष्णु ज्ञवाली, बरुण भण्डारी, टिकाराम थापा, पुर्णबहादुर बलाल, रुद्रबहादुर थापा, डिल्लीराज थापा र बाबुराम भण्डारी छन ।
अध्यक्ष, महासचिव, कोषाध्यक्षसहित सबै सदस्यहरुका लागि यसअघि नै निर्विरोध भइसकेको भएपनि ३ जना उपाध्यक्षमा ५ र १ सचिवमा २ जनाको उम्मेदवारी अन्तिम समयसम्म कायम थियो ।

 

अधिवेसन सुरु हुनुअघि अअधिवेसनस्थलमै समाजका सल्लाहकार, सबै उम्मेदवार र निर्वाचन समितिका अधिकारीहरुबीच छलफल गरेर सहमति बनाइएको थियो । सहमतिका लागि उपाध्यक्षका उम्मेदवारहरु मतिप्रसाद पुन र राम सापकोटा तथा सचिव उम्मेदवार मञ्जु खरेलले आ आफनो उम्मेदवारी फिर्ता गराएका थिए ।
मीन दर्लामीको संयोजकत्वमा गठित निर्वाचन समितिले सर्वसम्मत नयां कार्यसमितिको घोषणा गरेको थियो ।
यसअघि अध्यक्ष अर्जुन गौतमको अध्यक्षतामा सम्पन्न अधिवेसनमा महासचिव राम गलामीको वार्षिक प्रतिवेदन र कोषाध्यक्ष टोप पल्लीको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।

समाजका उपाध्यक्ष विनोद ज्ञवालीले स्वागत मन्तव्य दिएको कार्यक्रममा समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा र सल्लाहकार बालजंग अर्यालले मन्तव्य राखेका थिए । त्यसक्रममा उपाध्यक्ष केशव भण्डारीले विधान संसोधनका लागि अघि सारेका केहि प्रस्तावहरु पनि अधिवेसनले पारित गरेको छ ।

सन् २००७ मा स्थापित गुल्मी जिल्ला समाजले त्यसयता नियमित विभिन्न परोपकारी कामहरु गर्दै आएको समाज यूकेको नेपाली समुदायमा उदाहरणीय मानिन्छ ।

 

Share This:

Like us to get updated
error: Content is protected !!