Search

भब्य बन्यो बेलायतको गुल्मेली दशौ बार्सिकोत्सव

भब्य बन्यो बेलायतको गुल्मेली दशौ बार्सिकोत्सव

लन्डन– गुल्मी जिल्ला समाज युकेले बेलायतमा हरेक बर्ष आयोजना गर्दै आइरहेको वार्षिक समर भेटघाट कार्यक्रम बेलायत अल्डरसटको कनट स्कुल परिसरमा भब्यरुपमा सम्पन्न भएको छ । संस्था स्थापनाको दसौं वार्षिकोत्सव मनाउँदै गरेको बेलायतका गुल्मेलीहरुको यसपालीको भेटघाटमा हजार भन्दा बढी मान्छे एक ठाउँमा भेला पारेको थियो । बेलायतको उक्त गुल्मेली भेलामा टिपिकल सांस्कृतिक प्रस्तुति लगायतका मनोरञ्जनले नेपाली गाउँ घरकै मेलाको झल्को दिएको सहभागीहरुले बताए ।

पूर्व कानुनमन्त्री हरिप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा बेलायतस्थित नेपाली दूतावासका तृतीय सचिव भूपेन्द्र घिमिरे विशेष अतिथि थिए । कार्यक्रममा एनआरएन यूरोप संयोजक कुल आचार्य, एनआरएन यूके उपाध्यक्ष शान्ति थापा, पर्यटन बोर्ड यूकेका मानार्थ दूत पशुपति भण्डारी, पर्वत समाजका दधि आचार्य, ग्रेटर रशमोर नेपाली कम्युनिटीका जिव बेलबासे लगायत धरैअतिथि सहभागी थिए ।

समाजका महासचिव शिव भण्डारी तथा मञ्जु खरेलले संयुक्तरुपमा सञ्चालन गरेको कार्यक्रममा समाजका उपाध्यक्ष फडिन्द्र भट्टराईले धन्यवाद व्यक्त गरे । समाजका अध्यक्ष राम गलामीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य समाजका उपायक्ष एवं कार्यक्रम आयोजक समितिका संयोजक टोप पल्लीले तथा हेल्थ एन्ड सेफ्टीबारे समाजका सचिव वीर बलालले जानकारी दिएका थिए ।

कार्यक्रममा प्रमुख अतिथि पूर्व कानुनमन्त्री न्यौपाने, एनआरएन यूरोप संयोजक कुल आचार्य, नेपाली दूतावासका द्वितिय सचिव भूपेन्द्र घिमिरे, समाजका संस्थापक अध्यक्ष ओमप्रसाद थापा, पूर्वअध्यक्ष अर्जुन गौतमले मन्तव्य व्यक्त गरेका थिए । पूर्वमन्त्री न्यौपानेले आफूलाई गुल्मीमै भएको आभाष मिलेको बताए । ‘मलाई गुल्मीमै रहेको अनुभूति भएको छ,’ उनले भने, ‘समाजले मलाई गरेको सम्मान गुल्मी मै लिएर जानेछु ।’ कार्यक्रमको उदघाटन स्थापनाकालदेखिका अध्यक्ष, उपाध्यक्ष एवं वरिष्ठ समाजसेवीहरुले केक काटेर गरेका थिए ।
कार्यक्रमको दोस्रो चरणमा गायक सन्तु थापा, रुपा घर्तीमगर, याम क्षेत्री, बलराम पुन, राजु ढकाल, जानकी तारामी मगर सहितले सांगीतिक प्रस्तुति गरेका थिए । मौसमलेसमेत साथ दिएकाले ठूलो संख्यामा उपस्थित गुल्मेलीहरु खुला चौरमा बसेर तीज, झ्याउरे, पञ्चे बाजामा रमाएका थिए । गुल्मेली नौमती बाजा कार्यक्रमको प्रमुख आकर्षण रह्यो । भेटघाट रेस्टुरेन्टले खानाको व्यवस्थापन गरेको थियो ।

Related posts